इनेपालपत्र , ४३४ पटक हेरिएको
मोरङ ,३१ असोज । मोरङ क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्य उम्मेद्वार बन्नुभएको छ ।
२०७० सालमा लिम्बू संविधानसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ संविधानसभा सदस्य हुँदा देशले नयाँ संविधान पाएको थियो । लिम्बू २०३९ सालदेखि शिक्षण पेसामा लाग्नुभएको थियो । लेटाङ नगरपालिका ४ गुवाबारीका बासिन्दा सभापति लिम्बू शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत रहनुभएको थियो । २०४२ सालबाट पार्टीमा जोडिनुभएका डिगबहादुर शिक्षकको स्थायी जागिर छाडेर २०५१ मा राजनीतिमा आउनुभयो । कांग्रेसबाट टिकट पनि पाउनुभयो । सो बेला चुनाव हारेपछि लिम्बू थप दुई वर्ष शिक्षण पेसामा आबद्ध रहनुभयो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले डिगबहादुरलाई मोरङ-९ (हाल १) मा उम्मेदवार बनायो । डिगबहादुरलाई पराजित गरेर माओवादीका नगेन्द्र धिमाल संविधानसभा सदस्य चुनिनुभयो । २०७० सालमा कांग्रेसले डिगबहादुरलाई टिकट दियो भने एमालेले घनश्याम खतिवडालाई सारेपछि ०५१ का प्रतिस्पर्धी आमनेसामना हुनुभयो डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा घनश्याम १२ हजार ९८९ मतका साथ दोस्रो स्थानमा रहनुभएको थियो ।
२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्र ६ वटामा सीमित भयो । खतिवडा र लिम्बुको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा दुवै जना उम्मेदवार बन्नुभयो । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका घनश्याम ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुरले ३१ हजार ४३६ मत मात्र पाउनुभयो ।
यो पटक कांग्रेसबाट डिगबहादुर र एमालेबाट घनश्याम नै फेरि चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो पटक घनश्यामलाई सघाएको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले यो पटक डिगबहादुरलाई समर्थन गरेको छ । एमालेले भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ ।
रोजगार , शिक्षा , स्वास्थ्य , खानेपानी , वैद्युत , सडक पूर्वाधार, नदी नियन्त्रणसँगै जनताको जनजिविकालाई सहज बनाउन आफू उम्मेदवार भएको उहाँको दाबी छ ।
सभापति लिम्बूले यस पटक प्रतिनिधिसभापछि संसदीय राजनीतिबाट विश्राम लिने सोचाई बनाउनुभएको छ । संसदीय राजनीतिबाट विश्राम लिएर पार्टी राजनीतिमा भने केही बर्ष सक्रिय रहने उहाँको सोचाई छ । २०७० सालमा संविधान निर्माणका लागि पठाउनुभएको जिम्मेवारी इमान्दारिताको साथ पूरा गरेको उल्लेख गर्दै | उहाँले भन्नुभयो “यस पटक मोरङ क्षेत्र नं. १ को उम्मेद्बारी विकास र समृद्धिका लागि हो” ।
प्रकाशित मिति: २०२२-१०-१७ , समय : १९:१५:४९ , २ वर्ष अगाडि